गुलरियामा टी–१२ नाइट क्रिकेट प्रतियोगिता सम्पन्न, आयोजक बर्दिया यूथ स्पोर्ट्स क्लब प्रथम
असोज २८, बर्दिया — परिवर्तनको आवाज
बर्दियाको गुलरियास्थित खेल मैदान (कवर्ड हल) मा बर्दिया यूथ स्पोर्ट्स क्लबद्वारा आयोजित टी–१२ नाइट क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। असोज १८ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा आयोजक बर्दिया यूथ स्पोर्ट्स क्लब प्रथम र बबई बहुमुखी क्याम्पसको टोली द्वितीय भएको छ।
प्रतियोगितामा प्रथम हुने आयोजक बर्दिया युथ स्पोर्टस् क्लब टोलीले ५० हजार रुपैयाँ र द्वितीय हुने बबई बहुमुखी क्याम्पसको टोलीले २५ हजार रुपैयाँ नगद पुरस्कारको साथै ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ।
त्यसैगरी, प्रतियोगिताको म्यान अफ द टुर्नामेन्टलाई ५ हजार रुपैयाँ तथा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई ३ हजार रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो। म्यान अफ द म्याच घोषित खेलाडीलाई प्रत्येक खेलमा ५०० रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिता व्यवस्थित र उत्साहजनक रूपमा सम्पन्न भएको छ। बर्दिया यूथ स्पोर्ट्स क्लबका अध्यक्ष महेमुद सिद्दिकीको नेतृत्व तथा खेल संयोजक दयाशंकर पाठक (पापू) को संयोजनमा प्रतियोगिता सञ्चालन गरिएको हो।
खेल सञ्चालन तथा व्यवस्थापनमा सहयोग पुर्याउने विभिन्न व्यक्ति तथा सहयोगीहरूलाई आयोजकले कदरपत्र प्रदान गरी सम्मान गरेको थियो।
प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने खेलाडी, टिम, सहयोगी तथा सम्पूर्ण सरोकारवालाप्रति आयोजक क्लबले धन्यवाद व्यक्त गरेको छ। साथै, विजेता तथा उपविजेता टोलीका खेलाडीलाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन र सफलताको शुभकामना व्यक्त गरेको छ।






