राजापुरमा मान्छेको ज्यान लिने चितुवा नियन्त्रणमा
परिवर्तनको आवाज | असोज २७ बर्दिया
बर्दियाको राजापुर नगरपालिका–३ मा एक व्यक्तिको ज्यान लिएको चितुवा डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ। सोमबार बिहान सामुदायिक वन क्षेत्रबाट वयस्क भाले चितुवा नियन्त्रणमा लिइएको हो।
गत बिहीबार चितुवाको आक्रमणबाट राजापुर–३ चख्खापुरका ४२ वर्षीय मंगल थारुको मृत्यु भएको थियो। डिभिजन वन कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त टोलीले चितुवालाई नियन्त्रणमा लिएको कार्यालयका सूचना अधिकारी शिवबहादुर केसीले जानकारी दिए।
यसैबीच, गुलरिया नगरपालिका–१ मा पनि चितुवाको आतंक बढेको छ। स्थानीयका अनुसार चितुवा बस्तीमा पसेर दिनहुँ बाख्रा र कुकुरमाथि आक्रमण गर्ने गरेको छ। चितुवाको गतिविधि बढेपछि स्थानीयवासी त्रसित बनेका छन्।
स्रोत: फरक समाचार







