साउन १५ बर्दिया:आजका दिनमा सहरमा ठूला व्यापारीहरू बैंकको ऋणले थला परेका छन्। उनीहरूको घर-जग्गा विश्व बैंकको ‘Policy Lending’ अन्तर्गत विदेशी बैंकहरूको कब्जामा छ। गाउँघरमा महिला दिदिबहिनीहरु लघुवित्तको जालमा परेका छन्, जुन संस्थाहरूले जनताको गरिबीलाई लुट्ने व्यवसाय बनाइरहेका छन्।
उता, सहकारी र मिटर ब्याजले किसान र मजदुरको जीवन नै उजाड बनाएको छ। बुढेसकालका लागि बचत गरेको पैसा, जसले अन्तिम उपचार गर्न सक्थ्यो, त्यो पनि डुबेको छ। यद्यपि यिनै पीडित जनताबाट अझै किन बिद्रोह उठ्दैन ?
नेपालजस्तो विकासोन्मुख देशमा निर्माण तथा विकासका कामहरू मुख्यत: ठेक्कापट्टा प्रणालीमार्फत हुँदै आएको छ। तर यो प्रणाली आफैँमा गम्भीर विसङ्गतिहरूले भरिएको छ, जहाँ प्रत्येक तहमा कुनै न कुनै पक्ष शोषणमा परेको छ। यो शोषणको सिँढी हेर्दा माथिल्लोतर्फ ठेकेदार राज्यबाट पीडित छन् भने अन्तिम तहमा सामान्य उपभोक्ता र श्रमिक छन्, जसले आफनो श्रमको मूल्यसम्म पाएका छैनन।
ठेकेदारहरू प्रायः सरकारको ढिलो निर्णय, कमिसनमुखी ठेक्का प्रक्रिया र मूल्यवृद्धिलाई व्यवस्थापन गर्न नसक्ने नीतिका कारणले पीडित छन्।
ठेक्का लिनु अघि नै कमिसनको सेटिङ्ग गर्नु पर्ने बाध्यता छ ।
काम गरेपछि वर्षौंसम्म भुक्तानी नपाउने अवस्था छ
निर्माण सामग्रीको मूल्य एकतर्फी बढ्दै जाँदा नोक्सानी व्यहोर्नु पर्ने स्थिति छ ।
राज्यको असक्षम योजना र नीति को मार ठेकेदारले व्यहोर्नु परेको छ ।
माथिल्लो तहमा दबाब खेपेका ठेकेदारहरू आफ्नो घाटा मजदुरहरुको ज्यालाबाट पूर्ति गरेको पाइन्छ । मजदुरहरुले सम्झौता अनुसारको ज्याला र समयमा पारिश्रमिक पाउदैनन् । अन्तिममा न्यून ज्याला चित्त बुझाउन बाध्य हुनु पर्ने स्थिति सिर्जना भएको छ । यसले देखाउँछ कि मजदुर वर्ग शोषणको प्रत्यक्ष सिकार हो, जसले आफ्नो श्रमको उचित मूल्यसम्म पाउँदैन ।
गाउँघरमा उपभोक्ता समितिहरू “सेटिङ्ग मा बनाउन थालेका छन्।
जनप्रतिनिधिहरूले आफ्ना निकटका व्यक्तिहरूलाई मात्र ठेक्का वा उपभोक्ता समितिमा सहभागी गराउछन ।
बर्ष भरी बिकासले गति लिन सक्दैन । जब परेयो राती तब बुढी ताती भने जस्तै असार सुरु भए पछि बजेट खर्च गर्न जथाभावी डोजर आतंक देखिन्छ । त्यसबाट कामको बिल मिलान गरि अनावश्यक कमिसन असुल्ने गरेको देखिन्छ ।
सामान्य जनताको विकासमा पहुँच छैन भए पनि जिविको प्राजन गर्ने सम्मको ज्याला पाउदैनन् ।
समाज दिनदिनै जटिल बन्दै गएको छ । वैदेशिक रोजगारको नाममा आज हजारौं नेपालीहरू विदेशी भूमिमा श्रम बेच्न गएका छन् । कोही भिजिट भिसामा ठगिएका छन्, कोही अमेरिकाको शरणार्थी प्रक्रियामा दलालबाट लुटिएका छन् । गाउँघरमा खुलेआम बिचौलिया सक्रिय छन्, जसले युवाहरूको सपना बेचिरहेका छन् । राज्य यसमा मौन छ, र पीडितहरू अझ मौन छन् ।
देशभित्रै बलात्कार, हत्या, हिंसा ,लागूपदार्थको व्यापक प्रयोग — यी सबै घटना दैनिकजसो भइरहेका छन् । लागूपदार्थले युवाहरूको भविष्य नष्ट गर्दैछ । हत्या र बलात्कारका घटना सामान्य समाचार झैं भइरहेका छन् ।
सत्तामा पुगेकाहरू अपराधमा मुछिएका छन्, सार्वजनिक सम्पत्ति दोहन गर्दैछन्, तर उनीहरूलाई कारबाहीको साटो सुरक्षा दिइन्छ । यस्तो अवस्थामा कानुन जनताको होइन, दलालहरुको हातमा गएको छ । अबको विकल्प भनेको नेपाली माटो, कला संस्कृति, उत्पादन प्रणाली, समाजको संरचना र जनताको जीवन अनुभव मा आधारित “नेपाली विशेषताको समाजवाद” ले यिनी समस्यको हल गर्ने छ । त्यसैले सचेत देश भक्त राष्ट्रवादी नागरिकहरुले बिद्रोह गर्न पछि हट्नु हुँदैन । थप तपाईंहरुको सकारात्मक सुझाव को अपेक्षा गर्दछु ।






