सरकारले निःशुल्क एआई तालिम सञ्चालन गर्दै, प्रविधिमैत्री जनशक्ति निर्माणमा सकारात्मक पहल
काठमाण्डौं, कार्तिक १६— परिवर्तनको आवाज पारस बनिया
नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समितिको सहकार्यमा ‘AI with Effective Prompt Engineering’ विषयक निःशुल्क अनलाइन तालिम सञ्चालन हुने भएको छ।
सरकारले कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता आधुनिक प्रविधिको ज्ञान सर्वसाधारणसम्म पुर्याउने उद्देश्यसहित अघि सारेको यो पहललाई सकारात्मक रूपमा हेरिएको छ। बदलिँदो प्रविधिको युगमा नागरिकलाई आवश्यक सीप र ज्ञान प्रदान गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति र ING Group Pvt. Ltd. एवं ज्ञान बजार अनलाइन प्रा.लि.को सहकार्यमा सञ्चालन हुन लागेको तालिमले सहभागीहरूलाई एआई प्रविधिको प्रभावकारी प्रयोग र प्रम्प्ट इन्जिनियरिङसम्बन्धी ज्ञान हासिल गर्ने अवसर प्रदान गर्नेछ।
सूचनाअनुसार तालिम २०८३ कात्तिक १८ र १९ गते अनलाइन माध्यमबाट निःशुल्क सञ्चालन हुनेछ। प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म र बेलुका ६ बजेदेखि ८ बजेसम्म तालिमका सत्र सञ्चालन गरिनेछन्।
तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूले सूचनामा उल्लेख गरिएको क्यूआर कोड स्क्यान गरी वा उपलब्ध गुगल फारममार्फत आवेदन दिन सक्नेछन्। सहभागीहरूले आफूलाई अनुकूल हुने कुनै एक सत्रमा सहभागिता जनाउन सक्नेछन्।
प्रविधिको विकाससँगै एआईको प्रयोग शिक्षा, रोजगारी, व्यवसाय तथा दैनिक जीवनमा विस्तार हुँदै गएको अवस्थामा यस्ता निःशुल्क तालिमले नागरिकको डिजिटल सीप अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। सरकारी निकायबाट नागरिकलाई नयाँ प्रविधिसँग जोड्ने यस्ता कार्यक्रम सञ्चालन हुनु राम्रो र स्वागतयोग्य पहल हो।
परिवर्तनको आवाज स्वच्छ र निष्पक्ष समाचार







