युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँचदिने तालिम सम्पन्न

युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँचदिने तालिम सम्पन्न युवा नेतृत्व र सार्वजनिक सेवा प्रवाहमा जवाफदेहितामा जोड

बर्दिया, कार्तिक १६ — परिवर्तनको आवाज | पारस बनिया

बर्दियामा युवा नागरिक स्कोर कार्ड (YCSC) सम्बन्धी प्रशिक्षक प्रशिक्षण (ToT) पाँचदिने तालिम सम्पन्न भएको छ। युवाको नेतृत्व विकास, सार्वजनिक सेवा प्रवाहको मूल्याङ्कन तथा स्थानीय तहमा जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिम कार्तिक ११ देखि १५ गतेसम्म चलेको थियो।

प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब (BUC) र राधाकृष्ण थारू जनसेवा केन्द्र (RKJS) को साझेदारीमा सञ्चालित सुरक्षित भविष्य परियोजनाअन्तर्गत आयोजित तालिममा मधुवन, गुलरिया र ठाकुरबाबा नगरपालिकाका २० जना युवा स्वयंसेवकसहित परियोजनाका कर्मचारी गरी ३० जनाको सहभागिता रहेको थियो।

तालिमको मुख्य उद्देश्य सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता मूल्याङ्कन गर्न, बालबालिका, किशोरकिशोरी तथा युवाको अधिकार प्रवर्द्धन गर्न र विशेषगरी सीमान्तकृत समुदायका लागि समान तथा सहज रूपमा सार्वजनिक सेवामा पहुँच सुनिश्चित गर्न युवाहरूको क्षमता अभिवृद्धि गर्नु रहेको थियो।

तालिमका क्रममा सहभागीहरूलाई सरकारी विद्यालय तथा स्थानीय सरकारबाट प्रदान गरिने सेवाको गुणस्तर मूल्याङ्कन, सेवाग्राही तथा अभिभावकको सन्तुष्टि विश्लेषण, सेवा प्रदायकको भूमिका तथा जिम्मेवारी समीक्षा र सेवा प्रवाहमा रहेका चुनौती पहिचान गर्ने विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।

त्यसैगरी, सरोकारवालासँग समन्वय तथा संवाद गर्ने, प्रमाणमा आधारित तथ्याङ्क सङ्कलन र विश्लेषण गर्ने तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी र जवाफदेही बनाउन सुझाव तथा कार्ययोजना तयार गर्ने विषयमा पनि तालिम दिइएको थियो।

तालिमको समापन समारोह बाँके युनेस्को क्लबका सहअध्यक्ष निरज कुमार गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाट प्रमुख अतिथि तथा प्लान इन्टरनेशनल नेपाल, सुर्खेतकी क्षेत्रीय कार्यक्रम व्यवस्थापक मीना पराजुली विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा बोल्दै नगर प्रमुख भाटले युवाहरू समुदायका अमूल्य सम्पत्ति तथा सामाजिक रूपान्तरणका महत्त्वपूर्ण संवाहक भएको बताउनुभयो। उहाँले बालविवाह, लागुऔषध तथा दुर्व्यसनजस्ता सामाजिक समस्याविरुद्ध युवाहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

विशेष अतिथि पराजुलीले युवाको सक्रिय सहभागिता र सरोकारवालाबीचको सहकार्यले बालबालिका तथा किशोरीहरूको अधिकार संरक्षण र सशक्तीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।

समापन समारोहका अध्यक्ष गौतमले सामाजिक परिवर्तनका लागि युवाहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै समुदायस्तरका गतिविधिमा अपनत्व, आत्मविश्वास र जिम्मेवारीका साथ नेतृत्व गर्न आग्रह गर्नुभयो।

तालिमपछि युवा स्वयंसेवकहरूले विद्यालय, स्थानीय सरकार, स्वास्थ्य संस्था तथा अन्य सरोकारवालासँग समन्वय र छलफल गरी सार्वजनिक सेवा प्रवाहको अवस्था मूल्याङ्कन गर्ने, सुधारका क्षेत्र पहिचान गर्ने तथा गुणस्तरीय शिक्षा र प्रभावकारी बाल संरक्षण सेवाका लागि पैरवी गर्नेछन्।

सहभागीहरूले परियोजनाको अवधि समाप्त भएपछि पनि युवा नागरिक स्कोर कार्ड अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। तालिमको सहजीकरण रोशन तिमिल्सिनाले गर्नुभएको थियो।

यस तालिमले युवा नेतृत्व, सामाजिक जवाफदेहिता तथा स्थानीय शासन प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता अभिवृद्धि गर्दै समावेशी, जवाफदेही र बालमैत्री समुदाय निर्माणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

परिवर्तनको आवाज स्वच्छ र निष्पक्ष समाचार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
छुटाउनु भयो कि ?
लोकप्रिय
भर्खरै प्रकाशित