बर्दियामा तीन पालिकाका युवा स्वयंसेवकलाई YCSC तालिम सञ्चालन गरिएको छ।
मधुवन, कात्तिक ११ — परिवर्तनको आवाज
बर्दियामा तीन स्थानीय तहका युवा स्वयंसेवकका लागि युवा नागरिक स्कोर कार्ड (YCSC) सम्बन्धी प्रशिक्षक प्रशिक्षण (ToT) तालिम सुरु भएको छ। सुरक्षित भविष्य (Safe Future) परियोजनाअन्तर्गत मधुवन नगरपालिका–१, पथरभोजीमा तालिम आयोजना गरिएको हो।
Banke UNESCO क्लब (BUC), राधाकृष्ण थारु जनसेवा केन्द्र (RKJS) र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित तालिममा गुलरिया, मधुवन र ठाकुरबाबा नगरपालिकाका २१ जना युवा स्वयंसेवकसहित विभिन्न संस्थाका प्रतिनिधि गरी ३० जनाको सहभागिता रहेको छ।
तालिमको उद्घाटन सत्रमा सुरक्षित भविष्य परियोजनाका संयोजक गोविन्दप्रसाद लामिछानेले YCSC को अवधारणा, उद्देश्य र समुदायस्तरमा यसको महत्त्वबारे जानकारी गराउनुभयो। उहाँले यस विधिबाट सार्वजनिक सेवा प्रवाहको अवस्था मूल्याङ्कन गर्न, नागरिकका समस्या सम्बन्धित निकायसम्म पुर्याउन र स्थानीय सरकारलाई थप जवाफदेही बनाउन युवाले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो।
त्यसैगरी, प्लान इन्टरनेशनल नेपालका विशेषज्ञ झलकमान विश्वकर्माले परियोजनाको उद्देश्य, कार्यक्षेत्र तथा बालबालिका, किशोरकिशोरी र युवाको अधिकार संरक्षणका लागि भइरहेका गतिविधिबारे जानकारी गराउनुभयो। तालिमको सहजीकरण रोशन तिमिल्सिनाले गरिरहनुभएको छ।
तालिममा तथ्याङ्क सङ्कलन, सार्वजनिक सेवा प्रवाहको मूल्याङ्कन, नागरिकका समस्या तथा आवश्यकता पहिचान, सुधारका लागि सुझाव सङ्कलन र सरोकारवालासँग संवाद तथा पैरवी गर्ने प्रक्रियाबारे व्यावहारिक ज्ञान र सीप प्रदान गरिनेछ।
तालिमपछि सहभागी युवा स्वयंसेवकहरूले आफ्नो समुदायमा YCSC विधि प्रयोग गरी सार्वजनिक सेवाको गुणस्तर सुधार, स्थानीय सरकारको जवाफदेहिता अभिवृद्धि र युवाको अर्थपूर्ण सहभागिता बढाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ। साथै, बालविवाह न्यूनीकरण, बालबालिकाको संरक्षण, गुणस्तरीय शिक्षाको प्रवर्द्धन तथा सुरक्षित र समावेशी समुदाय निर्माणमा समेत सकारात्मक योगदान पुग्ने विश्वास लिइएको छ।
परिवर्तनको आवाज — स्वच्छ र निष्पक्ष समाचार







